६ असार, नेपालगञ्ज/ नेपालगञ्ज उपमहानगरपालिका आर्थिक विकासका लागि योजना निर्माणमा जुटेको छ । आर्थिक क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधिसहित आज आर्थिक विकास रणनीति तर्जुमा सम्बन्धि प्रारम्भिक कार्यशाला गरिएको छ ।
सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सधैंभरी आर्थिक स्रोतका लागि संघ र प्रदेशको मुख ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि स्थानीय आवश्यकताका आधारमा योजना बनाएर आर्थिक गतिविधिमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
अब देखि नेपालगञ्जमा रणनीतिक र योजनावद्ध हिसावले काम अघि बढाइनेछ, नगर प्रमुख विष्टले भने’ नेपालगञ्ज आर्थिक नगरी भएका कारण यसले आर्थिक पाटोलाई मुख्य प्राथमिकता दिने गरेको छ ।नगर प्रमुख विष्टले नेपालगञ्जमा हुने आर्थिक गतिविधिले समग्र प्रदेशलाई लाभ पुग्ने भन्दै यहाँ हुने आर्थिक क्रियाकलाप अनिवार्य उपमहानगरपालिकामा अभिलेखीकरण हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले आगामी आर्थिक वर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा रहेको अवस्थामा आर्थिक क्षेत्रका सरोकारवालासँग आर्थिक विषयमा छलफल हुनु आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताए । कार्यक्रमका अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले आर्थिक क्षेत्र विकासको मेरुदण्ड भएको भन्दै अहिले बनाइने योजना सहज कार्यान्वयन हुने खालका हुनुपर्ने बताए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशी नेतृत्वको कार्यदलले तयार पारेको आर्थिक विकास रणनीति सम्बन्धि प्रारम्भिक मस्यौदामा अन्तरक्रियात्मक छलफल भएको थियो ।
कोहलपुर खबर । ६ असार २०७९, सोमबार ०८:२३