१७ पुष, कोहलपुर । कोहलपुरमा जारी महोत्सव ३ दिनका लागि लम्वाईएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समितिको आयोजनामा सञ्चालन भइरहेको कोहलपुर महोत्सव ३ दिनका लागि थप गरिएको हो । पौष ९ गते देखी संचालन भएको महोत्सव पौष १७ गतेसम्म संचालन हुने तय गरिएको थियो तर दर्शकहरूको उत्साहजनक उपस्थिति र व्यापक जनसमर्थनलाई ध्यानमा राख्दै अब पौष २० गतेसम्म जारी रहने आयोजकले जनाएको छ।
महोत्सवले स्थानीय कला, संस्कृति र परम्परालाई उजागर गर्दै राष्ट्रिय कलाकारहरूका दमदार प्रस्तुतीमार्फत मनोरञ्जनको नयाँ उचाई स्थापित गरेको आयोजकको ठम्याई छ । महोत्सव व्यवस्थापक अजय पुन मगर (गोपाल) ले दिएको जानकारी अनुसार महोत्सवमा थपिएका दिनहरूमा पनि दर्शकहरूको मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूले आफ्नो प्रस्तुती जारी राख्नेछन् ।
महोत्सवको ९ औ दिन बुधबार चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी,गायक सुकदेव अधिकारी ,गायिका सम्झना रणपाल ,मोडेल तथा डान्सर रुबिना अधिकारी ,बिजय पुन,सुनिता दहित लगायतको प्रस्तुति रहेको थियो । साथमा स्थानीय कलाकारहरुको प्रतिभा प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् ।
पौष २१ गते, आईतवारको दिन, महोत्सवलाई एक भव्य र्याली, प्रमाणपत्र वितरण, र पुरस्कार समारोहसँगै समापन गरिनेछ । यस कार्यक्रमले महोत्सवको समग्र उपलब्धिलाई सम्मान गर्दै सहभागीहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको छ ।
महोत्सवले केवल मनोरञ्जन मात्र नभई स्थानीय उत्पादन, व्यवसाय प्रवर्द्धन, र सांस्कृतिक पहिचानलाई जगेर्ना गर्न महत्वपूर्ण योगदान पुर्याउने गर्दछ ।महोत्सवमा सहभागी हुन अझै केही दिनको अवसर बाँकी रहेकोले, विभिन्न सांस्कृतिक प्रस्तुती, मनोरञ्जनका कार्यक्रम, र स्थानीय उत्पादनका प्रदर्शनीहरू अवलोकन गर्न सबैलाई आयोजकले वताएको छ ।
१८ गतेका मुख्य आकर्षक
महोत्सवमा बिहीबार गायक आनन्द कार्की ,गायिका प्रीती आले, आउनेछन् । त्यस्तै लोक दोहोरी गायक धनराज चुनारा , इब्सल सन्ज्याल ,आउने छ्न महोत्सवमा मोडल तथा डान्सर पुनम राना मगर र मोडेल दुर्गा रानाको प्रस्तुति रहने बताइएको छ । साथमा स्थानीय कलाकारहरुको प्रतिभा रहने तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
कोहलपुर खबर । १७ पुष २०८१, बुधबार २०:५४