फेरियो नेपालगन्ज मेडिकल कलेजको नाम

ईतिहास मेटाउन खोजेको भन्दै चौतर्फि बिरोध

१६ पुस, कोहलपुर। पश्चिम नेपालकै स्थापित अस्पताल नेपालगन्ज मेडिकल कलेजको नाम परिवर्तन गरीएको छ । नेपालगन्जको विपी चोकमा रहेको नेपालगन्ज मेडिकल कलेजलाई सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमा रूपान्तरण गरीएको हो ।

न्युनतम सेवासुविधाको माग गर्दै लामो समयदेखि कर्मचारी आन्दोलनमा उत्रिएकै बेला अचानक कलेजको नाम नै फेरिएको छ। यो सँगै कलेजले विभिन्न विभागमा गरेर ८ सय ९५ जनाको पदमा रोजगारी माग गरेको छ ।

कलेजले निकालेको सूचना अनुसार अस्पताल र कलेजका लागि सबैभन्दा धेरै नर्सिङ जनशक्तिको माग भएको छ । कलेजले ४ सय जना नर्सका लागि रोजगारी खुला गरेको छ। कलेजले कन्सलटेन्ट डाक्टरदेखि मेडिकल अफिसर र फार्मेसी देखि ल्याबसम्मका विभागमा जनशक्ति माग गरेको छ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि बुटवलामा रहेको थियो । गत साउनमा उक्त कलेज नेपालगन्ज हस्पटिल एन्ड रिसर्च ट्रेनिङ सेन्टर प्रालीसँग मर्ज भएको थियो । मर्ज भएपछि कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि भएको र बुटवलबाट नेपालगन्जमा स्थानान्तरण भएको बताईएको छ ।

यो कलेज मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालनमा ल्याएका हुन् । अर्यालले केही दिन अघि दाङमा रहेको ५ सय शैय्याको अस्पताल सञ्चालनका लागि पनि ८ सय भन्दा बढी जनशक्ति माग गरेका थिए।

यता आन्दोलनरत कर्मचारीले अस्पतालको कार्यप्रती असन्तुष्टि जनाएका छन्। उनिहरूले कर्मचारीका माग सम्बोधन गर्दै उचित ब्यवस्थापन गर्नुपर्नेमा अस्पताल ब्यवस्थापनले थप कर्मचारी माग गर्ने कार्य आपत्तिजनक रहेको बताएका छन ।

यता नेपालगन्ज मेडिकल कलेजको नाम परिवर्तन गरेर नेपालगन्जको ईतिहास मेटाउन खोजिएको भन्दै सामाजिक सञ्जालमा तिब्र आलोचना भईरहेको छ।