८ साउन,कोहलपुर । महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई प्रोत्साहन गर्न जानकी गाउँपालिकाले मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
अब महिला स्वास्थ्य स्वयंसेविकाले सङ्घीय सरकारबाट वार्षिक पोशाक खर्चबापत १० हजार, मासिक एक हजार र गाउँपालिकाबाट मासिक थप दुई हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । जानकी गाउँपालिकाले चालु आवका लागि महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूह कार्यक्रमका लागि ३५ लाख १३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
जानकी गाउँपालिकाका वडा १ देखि ६ सम्म ८१ जना महिला स्वास्थ्य स्वयम् सेविका कार्यरत रहेकी छन् । सोमबार गाउँपालिका पुगेर महिला स्वास्थ्य स्वयंसेविकाले दिनरात नभनी स्वास्थ्य सेवामा खटिएका आफूहरूलाई घरखर्च चलाउन पुग्नेगरी बजेटको व्यवस्था गरिदिन माग गरेको बताएका छन् ।महिला स्वयंसेविका भने गाउँपालिकाले मासिक दुई हजार रुपैयाँ दिने निर्णय गरेकोमा स्वागत गर्दै यतिले मात्रै पर्याप्त नहुने गुनासो गरेका छन् । वडा नम्बर २ बेलभारमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका रिमा काँदुले आफूहरूले ग्रामीण बस्तीमा गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य हेरचाह तथा अन्य काममा दिनरात नभनी खटिने भएकाले पालिकाबाट थप प्रोत्साहन माग गरिएको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने, ‘मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको गाउँपालिकामा मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा दिनरात गरेको मेहनतलाई गाउँपालिकाका तर्फबाट थोरै भएपनि समेट्ने प्रयास गरिएको छ ।’ गाउँपालिकाका अध्यक्ष छब्बन खाँले महिला स्वास्थ्य स्वयंसेविकाको कामको मूल्याङ्कन आधारमा हाललाई मासिक दुई हजार थप गरिएको जानकारी दिए ।
गाउँपालिकाका–६ वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन रकम उपलब्ध गराउन चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा १९ लाख ४४ हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।
कोहलपुर खबर । ८ श्रावण २०८०, सोमबार १७:१२