✍️विवेक रेग्मी
८ चैत, कोहलपुर । यहि चैत १५ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागी बाँकेमा ३४ परीक्षा केन्द्र निर्घारण गरीएको छ ।
चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि जिल्लाका विभिन्न ८ वटा पालिकाका २८ सामुदायिक र ६ संस्थागत गरी ३४ परीक्षा केन्द्र निर्घारण गरीएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले जानकारी दिए । सबैभन्दा बढी कोहलपुर नगरपालिकामा १०, नेपालगन्ज उपमहानगरपालिकामा नौ, खजुरा, राप्तीसोनारी र बैजनाथमा गाउँपालिकामा चार–चार र जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा एक–एक गरी जम्मा ३४ परीक्षा केन्द्र तोकिएको इकाई प्रमुख यादवले जानकारी दिए ।
(एसईई) मा बाँके जिल्लाबाट नौ हजार २९३ जना विद्यार्थी सहभागी हुने भएका छन् । नौ हजार १०२ नियमित र १९१ ग्रेड वृद्धि गरी जम्मा नौ हजार २९३ जना विद्यार्थीले एसईई दिन लागेको यादवले जानकारी बताए । इकाई प्रमुख यादवका अनुसार एक मदरसासहित १०१ सामुदायिक विद्यालय र ९७ संस्थागत गरी १९८ विद्यालयका चार हजार ७६३ छात्र र चार हजार ५३० छात्रा गरी नौ हजार २९३ विद्यार्थीले एसईई दिने भएका हुन् ।
उनका अनुसार १० वटा सामुदायिक विद्यालयका ३५७ जना प्राविधिकधारका विद्यार्थीे पनि एसईईमा सहभागी हुनेछन् । जसमध्ये सामुदायिक १०१ विद्यालयका तीन हजार दुई सय छात्र र तीन हजार २४० छात्रा गरी छ हजार ४४० विद्यार्थी र संस्थागत ९७ विद्यालयका एक हजार ६७१ छात्र र एक हजार १८२ छात्रा गरी दुई हजार ८५३ विद्यार्थी रहेका छन् ।
एसईईमा जयेन्दु बाल सुधार गृहका ३३ र नौवस्ता बाल सुधार गृहका ११ गरी ४४ जना बालबिज्याईकर्ता पनि सहभागी रहने उनले बताए । त्यसैगरी दृष्टिविहीन पाँच जना, कान नसुन्ने तीन जना र शारिरीक अपाङ्गता भएका दुई गरी १० जना अपाङ्ग क्षेत्रका विद्यार्थी पनि सहभागी रहनेछन् ।
सबैभन्दा बढी बैजनाथको सुर्योदय माध्यमिक विद्यालय चिसापानी केन्द्रबाट ४१७ विद्यार्थीले एसईई दिन लागेका छन् । त्यसैगरी बैजनाथकै भगवती माध्यमिक विद्यालय हसनापुर केन्द्रबाट सबैभन्दा कम १७२ जना विद्यार्थी एसइइमा सहभागी हुन लागेको यादवले बताए ।
गत वर्ष बाँके जिल्लाबाट आठ हजार ८८६ जना विद्यार्थीले एसईई दिएका थिए । यो वर्ष गत वर्षको तुलनामा ४०७ बढी विद्यार्थी एसईईमा सहभागी हुनेछन् ।
कोहलपुर खबर । ८ चैत्र २०८०, बिहीबार ११:०४