१० असार,काठमाण्डौ । गएराति एकैदिन चट्याङ लागेर ६ जनाको ज्यान गएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि अहिलेसम्म चट्याङका एक सय वटाभन्दा धेरै घटना भएका छन् ।
चट्याङ लागेर दङ्गीशरण गाउँपालिका–६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका–३ चखौराका ३७ वर्षीय रामनारायण चौधरी (वीरेन्द्र) को ज्यान गएको हो । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
त्यस्तै गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–८ फल्लेनीका ३९ वर्षीया विष्णु विकको चट्याङ लागेर ज्यान गएको छ शनिवार राति आफ्नै घरको आँगनमा चट्याङ लागेर घाइते भएकी विकको प्राथमिक स्वास्थ्य केन्द्र ईस्मा रजस्थल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको । जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा चट्याङ लागेर ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको ज्यान गएको बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर २३ को हर्पनमा गएराति चट्याङ लागेर ४९ वर्षीय देवबहादुर विककोे ज्यान गएको छ ।चट्याङ लागेर बेहोस भएका उहाँलाई मेट्रोसिटी अस्पताल पोखरामा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषण गरेको प्रहरीले जानकारी दिएको छ ।
वैशाखयता यसवर्ष चट्याङ लागेर १७ जनाको ज्यान गएको छ भने ८४ जना घाइते भएका छन् । अझै दुई–तीन महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउने आग्रह गरीएको छ ।
कोहलपुर खबर । १० असार २०८०, आईतवार ११:१९