मुगु हत्या प्रकरण : स्लीपिङ ट्याब्लेट खुवाएर श्रीदेवीको हत्यापछि उनका छोराछोरीको हत्या

हत्या गर्नेले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको पाइएको र केही व्यक्तिमाथि हत्याको आशङ्का गरिएकोमा उनीहरूको निगरानीका लागी सादा पोसाकका प्रहरी खटाईएको छ ।

१२ कात्तिक, मुगु । प्रहरीले मुगुमा भएको सामुहिक हत्याको प्रारम्भिक अनुसन्धान सकाएको छ ।

मुगुको छायाँनाथ नगरपालिका ६ स्थित मन्दु गाउँका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहरा, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका दुधे बालक रहर बोहराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थमा शव भेटिएपछि प्रहरीले विषेशज्ञ टोलीसहितको सहभागितामा अनुसन्धान थालेको थियो ।

प्रारम्भिक अनुसन्धान सकिएलगत्तै मृतक चारै जनाको शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । वैदेशिक रोजागारीमा कतारमा रहेका श्रीदेवीका श्रीमानसमेत आइपुगेका उनले बताए ।

घटनाको थप अनुसन्धान गर्न प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट खटिएको अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको थापाले बताए । प्रारम्भिक अनुसनधानका क्रममा हत्यामा संलग्नले पहिले मृतक श्रीदेवीलाई स्लीपिङ ट्याब्लेट खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरिसकेपछि छोरा, छोरीको पनि हत्या गरेको खुल्न आएको उनले बताए । हत्या गर्नेले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको पाइएको डीएसपी थापाले जानकारी दिए ।

केही व्यक्तिमाथि हत्याको आशङ्का गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटिएको डीएसपी थापाले बताए । घटनामा कति जनाको संलग्ना छ भन्ने बारे अझै खुल्न नसकेको उनको भनाइ छ । घटनास्थलबाट कानमा लगाएको सुनसहित तिलहरी जस्तो गहनासमेत भेटिएको प्रहरीले जनाएको छ । अन्य गहनासमेत लुकाएर राखेको अवस्थामा भेटिएको छ ।