कोहलपुर ।
नेपाल प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य तथा जि नेपाल फोर के टेभिजिजनका पत्रकार अभिषेक गुप्तामाथि दुर्व्यवहार भएको छ ।
नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कार्यरत कर्मचारी सुरक्षागार्डले पत्रकार गुप्तमाथि दुर्व्यवहार गरेका हुन् । उक्त घटनालाई लिएर नेपाल प्रेस युनियन बाँके शाखा गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकारले सम्बन्धित विषयमा सम्बन्धित ठाउँमा गएर रिपोर्टिङ गर्न पाउने पत्रकारको अधिकार हुन्छ । उक्त रिपोर्टिङको क्रममा आज दिउँसो २ः४२ बजे रिपोर्टिङ गर्न अस्पताल पुगेका गुप्ताले अस्पतालको केही फुटेजहरु खिच्नेक्रममा अस्पतालका सुरक्षागार्डले पत्रकार गुप्तमाथि हातपात गरी क्यामेरा खोस्ने काम गरिएको बताएका छन् । आफुले पत्रकार हो भनेर परिचय दिँदा समेत सुरक्षागार्डले यस्ता पत्रकार धेरैलाई चिनेको छु भन्दै अनुमति विना फुटेज नलिन धम्की दिएको पनि पत्रकार गुप्ताले बताए।
पत्रकारमाथि दुर्ब्यबहार गरिएको भन्दै नेपाल प्रेस युनियनले प्रेस विज्ञप्ति समेत निकालेको छ । प्रेस युनियन बाँकेका सचिव भीष्म लोधद्धारा आज जारी विज्ञप्तीमा पत्रकार गुप्तामाथि दुर्व्यवहार गर्ने सुरक्षागार्डमाथि अस्पताल प्रशासनले छानवीन गरी कारवाही गर्न समेत माग गरेको छ ।
विज्ञप्तीमा भनिएको छ-‘ अस्पतालको आइसीयू, प्रयोगशाला स्थल जस्तो संवेदनशील ठाउँमा रिपोर्टिङ गर्दा स्वभाविकरुपमा पत्रकारहरु संवेदनशील हुनैपर्छ । तर अस्पताल बाहिरको दृष्य खिच्नमा समेत रोक लगाउँदै पत्रकारमाथि दुर्ब्यबहार गरिनु दुःखद कुरा हो ।’
यस्ता घटना दोहोरिन नदिन र पत्रकारहरुलाई निर्वाध रिपोर्टिङको वातावरण बनाउन युनियनले अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।
कोहलपुर खबर । १ चैत्र २०८०, बिहीबार २१:४८