२८ चैत, कैलाली । कैलालीमा ७ वर्षीया बालिकामाथि विद्यालयमै करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका–४ मा रहेको राम जानकी इंग्लिस बोर्डिङ स्कुलमा ७ वर्षीया बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनराजा बुढाथोकीका अनुसार पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा गत चैत ११ गते ती किशोरलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उक्त घटना भने चैत ६ गतेको हो । पीडित बालिकाका अभिभावकका अनुसार बालिकाको यौनीबाट रगत बगेपछि उपचारका लागि अस्पताल लगिएको थियो । चिकित्सकले चेकजाँचका क्रममा उनीमाथि बलात्कार भएको बताएका थिए ।
त्यसपछि बालिकाले घटनाबारे विस्तृत जानकारी गराएको जाहेरीमा उल्लेख छ । तर, अहिले घटना मिलाउनुपर्ने भन्दै पीडित परिवारमाथि नै दबाब पर्न थालेको छ । बालिकाका बुवाका अनुसार प्रहरीलाई आफ्नो छोरीमाथि बलात्कार नभएको भनेर भन्न विद्यालयका शिक्षक र गाउँका अगुवाले दबाब दिइरहेका छन् । उनले छोरीमाथि बलात्कार गर्नेलाई कानुन अनुसार कारबाही हुनुपर्ने बताए ।
विद्यालयको बदनाम हुने भन्दै आर्थिक लेनदेन गरेर घटना गुपचुप गर्न दबाब आइरहेको पीडित परिवारको भनाइ छ । यस्ता दबाब आउन थालेपछि पीडित परिवारले मानव अधिकार आयोगमा पनि उजुरी दिएका छन् । उक्त बोर्डिङका सञ्चालक सञ्चालक नवलसिंह रोकाया भने बाहिर हल्ला भएजस्तो घटना नभएको बताउँछन् ।
‘बाहिर आएको जस्तो होइनजस्तो लाग्छ । मैले पनि सबै बुझ्न बाँकी छ । बुझेर भन्छु,’ रोकायाले भने ।
कोहलपुर खबर । २७ चैत्र २०८१, बिहीबार २२:०५