नेपालगञ्जमा पूर्ण खोज र खोपका लागि अभियान

२ चैत्र ,नेपालगञ्ज / नेपालगञ्जमा पूर्ण खोज र खोप लागि अभियान चलाइँदैछ । पूर्ण खोपका लागि कार्ययोजना तयार गर्न वडा(वडामा कार्यशाला गोष्ठी भइरहेका छन् । युनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रहरुमा पुगेर कार्यशाला गोष्ठी गरेको छ ।

वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । नियमित खोप छुट बच्चाहरु, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठी बाटै कार्ययोजना बनाइरहेको बताए । पूर्ण खोप कार्यक्रमको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्य पनि लिइएको हो ।

नेपालगञ्जलाई गत वर्ष नै पूर्ण खोप घोषणा गरिसकिएको थियो। पूर्ण खोप घोषणा भएको नेपालगञ्जमा हालसालै दादुरा महामारी देखिएको छ । दादुरा संक्रमित बालबालिकाले खोप नलगाएको पाइएको छ। जनस्वास्थ्य निरीक्षक तेज वलीले बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बन्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण गर्न थालेको बताए ।

यसैक्रममा आज नेपालगञ्जको वडा नम्बर १० मा कार्याशाला गोष्ठी गरिएको जनस्वास्थ्य निरीक्षक गोरखनाथ योगीले बताए । स्वास्थ्य चौकीमा गरिएको कार्यशालामा वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठ, वडा सदस्यहरु, स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक प्रतिनिधि, पत्रकार लगायत उपस्थित थिए । यसअघि वडा नम्बर ३, ५, ६, ७, ८, ११, १३, १४, १५, १६, १७, १९, २१, २२ र २३ मा कार्यशाला गोष्ठी गरिसकिएको थियो ।