राप्तीसोनारी । बाँकेको राप्तीसोनारीमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
राप्तीसोनारी ४ वडा कार्यालयको आर्थिक सहयोग एवं बैजनाथ राष्ट्रिय दैनिक कोहलपुरको समन्वय सहकार्यमा ५ दिने आधारभूत पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको हो । पत्रकारीता तालिममा राप्तीसोनारी गाउँपालिकाका १० जना युवा तथा किशोरीहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई आधारभूत पत्रकारिताका बारेमा सिकाइएको थियो । पत्रकारहरु कविन्द्र परियार र कुशल दलामीले प्रशिक्षण गराएका थिए भने प्रेस सेन्टर नेपाल राप्तीसोनारीका अध्यक्ष ईश्वरी के.सीले सहजीकरण गरेका थिए ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई सुझाव दिएका छन । उनले पत्रकार बौद्धिक जगत भएकाले समाज परिवर्तनको लागि पत्रकारको भूमिका अहम रहने बताए । यस क्षेत्रमा दक्ष पत्रकार उत्पादन गर्नको लागि गाँउपालिकाले सहयोग गर्ने पनि उनले बताए । राप्तीसोनारीको विकाससम्बन्धी सकारात्मक प्रचारप्रसारका लागि उत्प्रेरणा प्रदान गरि संचारमाध्यमहरुमा आबद्ध भए स्थानीय सरकारको तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनले ब्यक्त गरे ।
पाँच दिनसम्म संचालन गरिएको कार्यक्रममा प्रशिक्षक कबिन्द्र परियार र कुशल दलामीले आधारभूत पत्रकारिताका विभिन्न आयामहरूमा सहभागीहरुलाई तालीम प्रदान गरेका हुन् । सञ्चारका आधुनिक माध्यमहरू, लेखन कला, रिपोर्टिङ्ग, फोटो र भिडियो सम्पादन लगायतका विभिन्न पक्षहरूमा कार्यमूलक जानकारी प्राप्त गरे। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान सिपलाई आफ्ना पेशागत अभ्यासमा उतार्ने अपेक्षा प्रकट गरेका छन्।
यस तालिमले स्थानीय पत्रकारिता र सञ्चार क्षेत्रमा युवाहरूको उत्साह र सक्रियता अभिवृद्धि भएको देखिएको र भविष्यमा आफ्ना अनुभवहरूलाई साझा गर्ने तथा सूचना प्रवाह सुदृढ गर्ने अवसर प्रदान गरेको कार्यक्रमका सहजकर्ता प्रेस सेन्टर नेपाल राप्तीसोनारीका अध्यक्ष ईश्वरी के.सी ले बताए ।
तालिममा सहभागी प्रशिक्षार्थीलाई मञ्चले प्रमाणपत्र समेत दिएको छ ।
राप्तीसोनारी ४ का कार्यवाहक वडा अध्यक्ष मङ्गरे थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, प्रशिक्षक कबिन्द्र परियार, कुशल दलामी, वडा सचीव होम सुर्य के.सी वडा सदस्य नोमा बि.क, मदन थारु र सोहनी थारु लगाएतको उपस्थिति रहेको थियो । ५ दिने आधारभूत पत्रकारिता तालिम चैत २२ गतेदेखि २६ गते सम्म बैजापुरमा आयोजना गरिएको थियो ।
कोहलपुर खबर । २५ चैत्र २०८१, मंगलवार २३:११