पेट्रोलमा ७ रुपैयाँ र डिजेलमा ५ रुपैयाँ घट्यो

२ जेठ, काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल र मट्टितेल ५ रुपैयाँले घटाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

घटेको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ । हाल पेट्रोलको अधिकतम मूल्य १ सय ७८ रुपैयाँ लिटर रहेकामा अब त्यो १ सय ७१ मा झरेको छ ।  डिजेल र मट्टितेलको मूल्य अधिकतम १ सय ५९ रहेकोमा त्यो १ सय ५४ मा झरेको छ ।

भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।