राष्ट्रपति निर्वाचन : मतदाताको अन्तिम नामावली सार्वजनिक हुँदै

फागुन, १२ काठमाडौं / राष्ट्रपति पदका लागि संघीय संसदका ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० सहित कुल मतदाता ८ सय ८२ जना हुने भएका छन्।

संघीय संसद सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ। २०७८ को जनगणनाको अन्तिम विवरण सार्वजनिक नभएका कारण निर्वाचन आयोगले २०६८ कै जनगणनाका आधारमा मतभार तय गरेको हो।

संघीय संसदको सैभन्दा ठूलो दल कांग्रेसका २ सय ७३ मतदाता छन्। राष्ट्रपतिमा कांग्रेसको मतभार १६ हजार १ सय ४२ छ। यस्तै दोस्रो ठूलो दल नेकपा एमालेका संघ र प्रदेशमा गरी २ सय ५६ मतदाता छन्। उसको मतभार १५ हजार २ सय ३३ छ।

संघ र प्रदेशमा गरी १ सय २९ मतदाता रहेको नेकपा माओवादी केन्द्रको मतभार ७ हजार ६ सय ४९ छ। एकीकृत समाजवादीको मतभार २ हजार ५ सय ७४ छ भने जसपाको २ हजार १ सय ४५ मतभार छ।

राप्रपाको २ हजार ४ सय ५०, राष्ट्रिय स्वतन्त्र पार्टीको १५ सय १, जनमत पार्टीको १ हजार २ सय ४२ र लोसपाको ९ सय ७१ मतभार छ।

यस्तै नागरिक उन्मुक्ति पार्टीको ८ सय १३, जनमोर्चाको २ सय ६, नेमकिपाको २ सय २३, हाम्रो नेपाली पार्टीको ९६, नेपाल संघीय समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीको ४८–४८ मतभार छ।

यस्तै संघ र प्रदेशमा रहेका १८ स्वतन्त्र सांसदको मतभार १ हजार ५० छ भने राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित ३ जना सांसदको २ सय ३७ मतभार छ। कुल मतभार ५२ हजार ६ सय २८ रहेकोमा राष्ट्रपतिमा निर्वाचित हुन बहुमत अर्थात् २६ हजार ३ सय १५ मत ल्याउनुपर्ने हुन्छ।

यसैबीच राष्ट्रपति निर्वाचन कार्यालयले आज मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ।