सरकारले बडादशैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला

२२ असोज,काठमाडौं । सरकारले बडादशैँ, तिहार र छठ पर्वमा घर जानका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुलेको छ। अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ। कालोबजारीमा टिकट बिक्री हुन नदिन अनुगमन गरिने विभागको भनाइ छ।

संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत शुक्रबार भएको सर्वपक्षीय छलफलपछि आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो।

घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको घुइँचो लागेको छ। यो वर्ष विगतको तुलनामा यात्रुको भीडभाडसमेत बढेको छ।