५ असार, काठमाडौं/ काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आइतबार (आज) सार्वजनिक गर्दैछ ।
दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साहले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो । नीति तथा कार्यक्रम अनुमोदन गर्न महानगरपालिकाको कार्यपालिकाको बैठक अहिले बसिरहेको छ । नीति तथा कार्यक्रम बनाउन तीन सदस्यीय समिति बनाइएको थियो ।
महानगरको कार्यपालिकामा प्रतिनिधित्व गर्ने वडाध्यक्षको भावना र सुझावलाई समेत समेटेर नीति तथा कार्यक्रम तयार पारीएको बताइएको छ । स्वतन्त्र उम्मेदवार बालेन्द्र साह मेयरमा निर्वाचित भएपछिको पहिलो नीति तथा कार्यक्रम भएकाले यसलाई महत्वका साथ हेरिएको छ । काठमाडौं महानगरपालिकाले यहि असार १० गते बजेट ल्याउने तयारी गरेको छ ।
यसैबीच, काठमाडौंका मेयर साहले नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा रंगशाला बनाउने विषयमा छलफल सुरु गर्नुभएको छ । फोहोरले भरिएर बन्द गर्ने अवस्थामा पुगेको सिसडोलमा रङ्गशाला निर्माणको विषयमा मेयर साहले अखिल नेपाल फुटबल संघको अध्यक्षका उम्मेदवार पंकज नेम्वाङलगायतसँग छलफल गर्नुभएको हो ।
लिगका लागि स्थानीय खेलाडीहरुको टिम बनाउने र त्यसका लागि आवश्यक पर्ने रङ्गशाला सिसडोलमा बनाउने योजना रहेको मेयर साहले बताउनुभएको हो । सिसडोल काठमाडौंबाट १२ किलोमिटरको दूरीमा पर्दछ ।
कोहलपुर खबर । ५ असार २०७९, आईतवार ०९:२१