१९ भदौ,बैतडी । बैतडीका १२ स्थानमा आपतकालीन उद्धारका लागि हेलिप्याड स्थापना गरिएको छ। विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउन तथा हेलिकप्टबाट उद्धारका लागि हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।
आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउन हेलिप्याड निर्माण गरिएको हो। ‘विपद् बेला आपतकालीन रूपमा उद्धारका लागि सहज होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ’, उनले भने।मनसुन आपतकालीन कार्ययोजना २०८० अन्र्तगत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका हुन्। सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी र टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएको छ।
यस्तै पञ्चेश्वर गाउँपालिका ३ कुलाउ, सिगास गाउँपालिका ९ चौखाम, सिगास ७ कै शिवलिंग, पुर्चौडी नगरपालिका १ हाट, पुर्चौडी ५ कुवाकोट, पुर्चौडी ३ नकाली, पाटन नगरपालिका ४ पाटन, डिलाशैनी गाउँपालिका ३ लेक,सुर्नया गाउँपालिका २ सिउडे र दोगडाकेदार गाउँपालिका १ रिममा गैरसैनिक हेलिप्याड निर्माण गरिएको हो।
मनसुनको प्रभाव बढ्दै गइरहेकोले बाढी, पहिरो, चट्याङ र अन्य विपद् आइपर्दा आपतकालीन उद्धार सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
कोहलपुर खबर । १९ भाद्र २०८०, मंगलवार ११:०९