नेपालगञ्जमा विद्यालयले सूचनाविपरीत पढाइ सञ्चालन गरे पछि नगर प्रहरी परिचालन

२३ जेठ,कोहलपुर । नेपालगञ्ज उपमहानगरपालिकाले जारी गरेको सूचनाको अबज्ञा गर्ने विद्यालयमा नगर प्रहरी पठाएको छ । नेपालगन्ज उपमहानगरपालिका ले अत्यधिक गर्मी बढेपछि तिन दिन बर्षे बिदामा मिलान हुने गरी गर्मि बिदा दिएको थियो । उक्त सूचना विपरीत पढाइ सञ्चालन भएपछि उपमहानगरपालिकाले ती विद्यालयहरुमा नगर प्रहरी पठाएको छ ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुनेगरी आइतबार २१ गते देखि २६ गते शुक्रवार सम्म बिदा गरिएको सूचना जारी गरेको थियो । जसमा आदर्श माध्यमिक विद्यालय नेपालगञ्ज, जयबागेश्वरी बोर्डिङ स्कुल लगायतका विद्यालयमा सूचनाविपरीत पठनपाठन सञ्चालन गरेको जानकारी भयपछि नगर प्रहरी पठाएर बन्द गराइएको हो ।

नगर प्रहरी प्रमुखको नेतृत्वमा नगर प्रहरी बन्द गराउन विभिन्न विद्यालयमा आइतबार पुगेका थिए । आदर्शले गर्मीयाममा विद्यार्थीका लागि कक्षाकोठामा ‘एसी’ चलाउनुपर्ने जनाउँदै मासिकरुपमा दुई सय रुपैयाँ विद्युत्को अलग शुल्क लिने गरेको छ ।

विद्यालय प्रशासनले गर्मीमा पठनपाठनमा सहज गराउनका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको र गर्मीले विद्यार्थीलाई खासै असर नगर्ने विद्यालय बन्द गराउन पुगेका नगर प्रहरीलाई जवाफ दिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए । नगर प्रहरी पुगेपछि ती विद्यालयले सोमबारदेखि लागू हुने गरी गर्मी बिदा गरेका छन ।