‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघले आह्वान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवस मनाइन्छ । यो वर्ष दिवसलाई भूमि बचाउमा केन्द्रित गरिएको छ। संयुक्त राष्ट्रसंघले भूमि पुनःस्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोधात्मकतामा दिवसलाई केन्द्रित गरेको हो ।
दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन् । ‘मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ’, उनले भनेका छन् ।
उनले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिएका छन् ।
‘त्यसका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठूलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ’, गुटेरेसले भनेका छन् ।
कोहलपुर खबर । २३ जेष्ठ २०८१, बुधबार ११:३०