प्रधानमन्त्री प्रचण्डले चौथोपटक पाए विश्वासको मत

कांग्रेसको अवरोधकाबीच सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका हुन् ।

७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत पाएका छन् । कांग्रेसको अवरोधकाबीच सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका हुन् ।

विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ मत, प्रस्तावको विपक्षमा शून्‍य मत परेको र प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको हो । प्रतिनिधि सभामा सोमबार १५८ सांसद उपस्थित थिए ।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ  ।

जसपा नेपाल फुटेर ससपा बनेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपरेको हो । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति माग गर्दै कांग्रेसले निरन्तर संसद्‌मा अवरोध जारी राखेको हो ।