७ मंसिर,काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान र एमाले निकट युवा संघ नेपालले बिहीबार(आज) काठमाडौंमा गर्न लागेको प्रदर्शनलाई लक्षित गरेर काठमाडौं उपत्यको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र दुई समूहले गर्ने कार्यक्रमका कारण हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखेर निगरानी बढाइएको जनाएको छ । युवा संघका लागि तीनकुने मैदान र प्रसाईं समूहका लागि बल्खुमा कार्यक्रम गर्ने स्थान तोकिएको छ ।
प्रशासनले तोकेको स्थान बाहिर गएर कुनै कार्यक्रम गरेर अप्रिय घटना भए सुरक्षा निकायले बल प्रयोग गर्ने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चेतावनी दिए । दुई समूहको कार्यक्रमलाई लक्षित गरेर सुरक्षा निकायले सादा पोसाकमा सुरक्षाकर्मीमार्फत निगरानी बढाएको छ । दुई समूहबीच झडप हुन नदिन फरक फरक रुट तोकिएको छ ।
नागरिकको दैनिक काममा अवरोध नहोस् भन्नका लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । दुवै समूहले आफ्नो कार्यक्रम शान्तिपूर्ण हुने जनाएका छन् । प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको छ ।
कोहलपुर खबर । ७ मंसिर २०८०, बिहीबार १५:३३