सुरक्षित खानेपानी,सरसफाई तथा स्वच्छता परियोजना : निरन्तरता र दीगोपनामा चुनौती

‘परियोजना अन्तर्गत बनेका संरचनाहरुको निरन्तरतासँगै पूर्णता दिन स्थानीय सरकारले अपनत्व लिनुपर्नेमा लुमन्ती आवासका लागि सहयोगको जोड

८ मंसिर, कोहलपुर । सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना अन्तर्गत लुमन्ती आवासका लागि सहयोग समूहले गरेका गतिविधि बारे आज (शुक्रबार) जानकारी गराएको छ ।

लुमन्ती आवासका लागि सहयोग अन्तर्गत सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छता परियोजनाले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा सुरक्षित खानेपानी तथा सरसफाइलाई दीगो र व्यवस्थित रुपमा संचालन गर्न निजी कम्पनीहरुको संलग्नता, क्षमता अभिवृद्धि, व्यवसायिक योजना निर्माण गर्दै आएको छ ।

परियोजनाले गरेका कामहरुको वारेमा शुक्रबार पत्रकारहरुलाई स्थलगत अनुगमन गराउँदै लुमन्ती आवासका लागि सहयोग समूहले खानेपानी, सरसफाई र स्वास्थ्यका क्षेत्रमा परियोजनाले सरकारका नीतिगत व्यवस्था, कार्यान्वयनको अवस्था र सचेतिकरणको पाटोमा सम्मन्वयकारी भूमिका निर्वाह गर्ने काम गरेको परियोजना प्रमुख सूर्यकुमार खड्काले बताए ।

परियोजनाले खानेपानीका लागि धारा जडान, विद्यालयमा सेनिटरी प्याडका लागि भेन्डिङ मेसिन, शौचालय निर्माण लगायतका क्षेत्रमा ठूलो लगानी गरेको छ । खानेपानी तथा सरसफाईको व्यवहार जन्य परिवर्तन सुधारको माध्यमबाट सुधारिएको खानेपानी तथा सरसफाइको सुविधा र अभ्यासको लागि माग अभिवृद्धि गर्दै आएको प्रमुख खड्काले बताए ।

 

सन् २०१८ जुलाईदेखि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई कार्यक्षेत्र बनाएर संचालित उक्त परियोजना आगामी डिसेम्वर महिनामा सकिदैछ । परियोजना सकिए पछि त्यसको संरक्षण र प्रर्वधन गर्न चुनौतीपूर्ण हुन सक्ने कार्यक्रम परियोजना अधिकृत लालबहादुर बुढाथोकीले बताए । परियोजना सकिएपनि परियोजनाले गरेका कामको निरन्तरता र दीगोपनाका लागि स्थानीय सरकारले अपनत्व लिनुपर्नेमा समूहको जोड रहेको छ । उक्त ‘परियोजना अन्तर्गत बनेका संरचनाहरुको निरन्तरतासँगै त्यसलाई पूर्णता दिने सवालमा अव स्थानीय सरकारले चासो लिनु पर्छ अधिकृत बुढाथोकीले भने ।

परियोजना लागू भएका कोहलपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा संचालित खानेपानी गुणस्तर परीक्षण मिनी ल्याब, कोहलपुर नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय लखनवारमा जडित खानेपानीको धारा तथा भेन्टिङ मेसिन, कोहलपुर नगरपालिका–१५ स्थित नगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, बैजनाथ गाउँपालिका–४ मा रहेको स्वास्थ्य जन्य फोहोर व्यवस्थापन केन्द्र र नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अनुगमन गरि त्यहाँ परियोजनाले गरेका गतिविधिबारे जानकारी गराइएको थियो ।

(फोटो फिचर)