तुल्सीपुरमा प्रदेश ट्राफिक प्रमुख प्रसाईंले गरे दुर्घटना न्यूनीकरण डिजिटल बोर्डको स्थापनाको उद्घाटन (सागर थापा)

दाङ / तुलसीपुर उपमहानगरपालिका वडा नं ५ र ब्यवसाही विनिल केसीको आर्थिक सहयोगमा राखिएको डिजिटल बोर्डहरुको एक कार्यक्रमका बिच सोमबार उद्घाटन गरिएको छ ।

सचेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्डहरु राखिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले मानवीय त्रुटिका कारण दुर्घटनाको जोखिम बढेको हुँदा सबैजना सचेत हुनुपर्ने बताए । बजारमा व्यवसाय गर्दै गर्दा अरूलाई अफ्ट्यारो नहुने गरी व्यवसाय गर्न उनले सबैलाई आग्रह गरे । दुर्घटना न्यूनिकरण गर्न स्थानिय सरकार लागिपरेको उनले बताए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका ट्राफिक प्रमुख एसपी कृष्ण प्रसाईले अस्वस्थ प्रतिस्पर्धा र तिब्र गतिका कारण सबै भन्दा धेरै दुर्घटना हुने गरेको बताए । आफ्नो कार्यकालमा दुर्घटना तुलनात्मक रुपले घट्दै गएको उनले दाबी गरे । कार्यक्रममा राष्ट्रिय यातायात महासंगका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरी बिच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताए । बसपार्कमा यात्रु तान्ने परम्पराको अन्त्य अझै हुन नसकेको र सिसी क्यामराको व्यवस्था नहुँदा ब्यवसाही समस्या परेको हुँदा यातायात क्षेत्र समस्या सम्बोधन हुने गरी काम गर्न स्थानीय सरकारलाई आग्रह गरे ।