इलाममा ३ वडाको मत गन्दा कांग्रेसको अग्रता कायमै, बझाङमा एमालेको अग्रता

१६ वैशाख, काठमाडौं । इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको मतान्तर घटाएका छन् ।

फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना गर्दा नेम्वाङले कांग्रेसका उम्‍मेदवार खड्कासँगको मतान्तर ४२ मा झारेका छन् । ४ हजार १ सय ८१ मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६४३ र एमालेका नेम्वाङले १ हजार ६०१ मत पाएका छन् । वडा नं १ र २ को मतगणनामा कांग्रेस उम्मेदवार खड्का ८० भन्दा बढी मतान्तरले अगाडि थिए ।

गत स्थानीय निर्वाचनमा फाकफोकथुमको १ र २ वडामा कांग्रेसले जितेको थियो भने वडा नं ३ को वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका थिए । यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३०५ मत पाएका छन् ।

यस्तै उता  बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन् । ४२१५ सदर मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ र एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् । बझाङमा आइतबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।