पोखरा ।
पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यान जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने बालकसहित १० जना घाइते भएका छन्।
मृत्यु हुनेमा दुवैजना पुरुष रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विकास खनालले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये ५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बाँकी ५ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
तीव्र गतिमा गुडेको जिप अनियन्त्रित भएर अन्नपूर्ण गाउँपालिका(४ सल्लाघारीको थामडाँडामा सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।
स्थानीय र प्रहरीको पहलमा घाइतेको उद्धार गरी उपचारका लागि अस्पतालमा ल्याइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
कोहलपुर खबर । १९ चैत्र २०८०, सोमबार १३:०९