१८ साउन,काठमाडौं । साउन २१ गतेदेखि काठमाडौं महानगरपालिकाले नौवटा वडामा कोभिड–१९ विरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ । यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि यो अभियान सञ्चालन गर्न लागिएको कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिएका छन ।
कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते २ दिन कार्यक्रम चलाइनेछ। यसैगरी वडा नं १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते दुई दिन कार्यक्रम चलाइने तयारी भयको छ । खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई समावेश गरिने प्रमुख पौडेलले बताए।
‘बिरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने विद्यमान परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आकलन गरेर नागरिकको बचावटको लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो’, उनले भने। पटकपटक सञ्चालन गरिएको अभियानमा पनि केही नागरिकले पहिलो मात्रासमेत खोप नलगाएको पाएपछि महानगरले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागेको पौडेलले जानकारी दिए।
अहिले कोभिडको सङ्क्रमणका बारेमा मानिसले खासै कुरा गरेका छैनन्। अस्पतालमा कोभिडकै कारण निमोनिया भएका बिरामी आउने गरेका छन्। उनीहरुको उपचार आईसीयूमा राखेर भइरहेको छ ।
कोहलपुर खबर । १८ श्रावण २०८०, बिहीबार ११:१२