कोहलपुर ।
कोहलपुरमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सुरु भएको छ । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य तथा एन्फाको सहयोगमा उक्त कोर्ष सञ्चालन गरिएको हो । कोहलपुर नगरपालिकाको सभा हलमा शनिबार औपचारिक कार्यक्रमका साथ कोचिङ कोर्ष उद्घाटन गरिएको हो ।
उद्घाटनको कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुरमा एन्फाका पदाधिकारी प्रशिक्षण दिन आउनु गौरवको कुरा रहेको बताए । यस्तै उपमेयर संगिता सुवेदीले हरेक क्षेत्रका खेलकुदका गतिविधिलाई कोहलपुर नगरपालिकाले प्राथमिकता दिइरहेको बताइन् ।
एन्फा केन्द्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले पश्चिम क्षेत्रमा कोहलपुरले खेलकुद क्षेत्रलाई प्राथमिकता दिइरहेको बताए।
उक्त कोचिङ कोर्ष बाँकेमा २८ वर्षपछि सञ्चालन भएको आयोजकको दाबी छ । आगामी चार दिनसम्म कोहलपुरस्थित १३ बिघामा सञ्चालन हुने कोचिङ कोर्षमा एन्फाका कार्यबाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिने बताइएको छ ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्की, नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवम् कार्यपालिका सदस्य ईश्वरी बि.क., राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य एलबी क्षेत्री, एन्फाका कार्यबाहक प्राविधिक निर्देशक खड्का, एन्फाका शिक्षा प्रमुख कोच सिंह, एन्फाका लुम्बिनी प्रदेश प्रशिक्षक जनक केसी लगायतको उपस्थिती रहेको थियो । कोचिङ कोर्षमा बाँके, दाङ, कपिलवस्तु लगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीको सहभागिता रहेको थीयो ।
कोहलपुर खबर । १९ फाल्गुन २०८०, शनिबार १९:४३