यसपालि दशैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ


१९ असोज,काठमाण्डौ । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँलाई लक्षित गरेर सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङमा यसपालि ढिलाइ भएको छ । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको छैन । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन् । समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोली दशैँको मुखमा खोल्दा यात्रुलाई दोब्बर÷तेब्बर भाडा तिरेर घर जानुपर्ने अवस्था आउने गरेको छ । यातायात व्यवसायी भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताउँछन् ।