२० भदौ,बैतडी । सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको जोखिममा छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले यो प्रदेश निकै जोखिममा रहेको देखाएको हो । दिनप्रतिदिन डेंगु संक्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
यो प्रदेशमा सन २०२३ को अगस्त महिनामा मात्रै ३३१ जनामा संक्रमण देखिएको छ। पछिल्लो आठ महिनाको तथ्यांक हेर्दा यस प्रदेशमा ६५८ जनामा संक्रमण पुष्टि भइसकेको छ। निर्देशनालयका अनुसार जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १२९, अप्रिलमा २५,मे महिनामा २२, जुनमा २६ जुलाईमा ५८ र अगस्टमा बढेर ३३१ पुगेको छ। प्रदेशभरीमा सबैभन्दा बढी कैलालीमा दुईसय १४ र सबैभन्दा कम बैतडीमा छ जनामा संक्रमण देखिएको छ।
यस्तै दार्चुलामा एकसय ९४, कञ्चनपुरमा एकसय १९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९,बझांगमा १२ र डडेल्धुरामा १० जनामा संक्रमण पुष्टि भएको छ।अरु महिनाभन्दा यो अगस्त महिनामा डेंगु संक्रमितको संख्या अधिक बढेको पाइएको जोशीले बताए।
कोहलपुर खबर । २० भाद्र २०८०, बुधबार १२:१३