ढुंगा खसेर जयपृथ्वी राजमार्ग अवरूद्ध, यात्रु अलपत्र

२५ भदौ,बैतडी । अविरल वर्षापछि सडक माथिबाट ठूलो ढुंगा खसेर जयपृथ्वी राजमार्ग अवरूद्ध बनेको छ। आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरूद्ध भएको हो।

खोडपेबाट पठाएको जेसीबीले ढुंगा फुटाउन नसकेपछि बझाङबाट ठुलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।उनले भने, ‘ठूलो ढुङ्गा फुटाल्न नसक्दा सवारीसाधन बाटोमै थन्किएका छन्।’आइतबारदेखि उक्त राजमार्ग अवरूद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन्। राजमार्ग अवरूद्ध भएर यातायातका साधन रोकिँदा यात्रु अलपत्र परेका छन्। शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको छ। यस्तै दशरथ चन्द राजमार्गको सतबाँझ–गोठला पानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ।