बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

१५ असोज, काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाले ज्यान गुमाएका छन् । २८ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयको आज बिहानसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन् । अझै ६ जना बेपत्ता रहेका छन् ।

धादिङ र ललितपुरमा ३९र ३९ जनाले ज्यान गुमाएका छन् । काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुर र दोलखामा ७र७ जनाको मृत्यु भएको छ। योसँगै बागमती प्रदेशका १३ वटा जिल्लामा १९२ जनाको मृत्यु भएको छ । ललितपुरमा ११ जना अझै बेपत्ता छन्। पाँचथरमा ६ जनाको मृत्यु भएको छ । भक्तपुर,सोलुखुम्बुमा ५र५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २र२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १र१ जनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ। घाइते भएका १४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।