प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन् । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जसपासहित पाँच दलीय गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका हुन् ।
बुधबार प्रतिनिधिसभामा भएको मतदानमा सहभागी २६८ सांसदमध्ये १५७ मत पक्षमा र ११० मत विपक्षमा खसेको थियो । १ सांसद तटस्थ रहे । प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो ।
आफूलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोहीअनुसार वाम–लोकतान्त्रिक गठबन्धन टुटेसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रह्यो ।
यसअघि गत वर्ष १० पुसमा तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुस ०७९ मा पहिलोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनले ९८ प्रतिशतभन्दा बढी अर्थात् २६८ मत पाएका थिए । त्यसबेला दुई जनाले मात्र विपक्षमा मत हालेका थिए ।
त्यसपछि फागुनमा नेपाली कांग्रेससँगको गठबन्धन ब्युँतिएपछि एमालेले समर्थन फिर्ता लिँदा प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक ६ चैतमा विश्वासको मत लिएका थिए । त्यसबेला १७२ पक्षमा र विपक्षमा ८९ मत खसेको थियो ।
कोहलपुर खबर । ३० फाल्गुन २०८०, बुधबार १६:५१