नगर स्तरीय फुटबल प्रतियोगिता वडा नं. ४ र वडा नं. २ विजयी

कोहलपुर ।  कोहलपुर नगरपालिका–८ झरकट्टी खेल मैदानमा शुक्रबारदेखि जारी नगर स्तरीय फुटबल प्रतियोगिता–२०८१ को आज भएको खेलमा वडा नम्बर–४ र वडा नम्बर–२ को टिम विजयी भएका छन् । प्रतियोगिताको चौथो दिन आज भएको खेलमा वडा नम्बर–४ ले वडा नम्बर–६ लाई र वडा नम्बर–२ ले वडा नम्बर–११ को टिमलाई हराउँदै विजयी भएका हुन् ।

आज भएको पहिलो खेलमा वडा नम्बर–४ र वडा नम्बर–६ को टिमबीच प्रतिस्पर्धा गरेका थिए । विहान ८ बजेबाट सुरु भएको खेल निकै प्रतिस्पर्धात्मक र रोचक बनेको थियो । वडा नम्बर ‐४ ले वडा नम्बर ‐६ लाई पेनाल्टी सुटआउटमा ३ ‐२ गोलले हराएको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएको थियो । त्यस पछि पेनाल्टी सुटआउटबाट खेलको छिनोफानो भएको हो । यस्तै आज भएको दोस्रो खेल वडा नम्बर–२ ले वडा नम्बर–११ को टिमलाई ३–० गोलले हरायो ।

खेलको २९ औँ मिनेटमा वडा नम्बर– २ का जर्सी नम्बर–१७ का विपिन सिजालीले पहिलो गोल गरेका थिए । उनले पुनः ५७ मिनेट थप अर्को गोल गरे । दोस्रो हाफमा वडा नम्बर–२ कैँ जर्सी ३ विनोद शाहीलले खेलको ६१ औँ मिनेटमा गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा वडा नम्बर–११ को टिमले थुप्रै अवसर पाएपनि गोल गर्न असफल भयो ।