मोसो दलियो यातायात कार्यालय धनकुटाका प्रमुखलाई

माघ, १२ धनकुटा : यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेका छन् ।

आफूले भनेको मान्छेको सवारी लाइसेन्समा नाम ननिकालिदिएको आरोपमा लुइँटेललाई कार्यकक्षमा पसेर मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

कार्यकक्षमा बसिरहेका वेला आएका नेकपा बहुमतका कार्यकर्ताले लुकाएर ल्याएको मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ ।

मोसो दलेर दुर्व्यवहार भएको सूचना पाएपछि पुगेको प्रहरीले आरोपीलाई फेला नपारेको र खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।

मोसो दलिएको ठाउँबाट नेकपा बहुमतको पर्चा फेला परेको मोसो दल्नेको पहिचान भएर खोजी भइरहेको उनले जानकारी दिए । मोसो दल्नेका विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र जसरी खोजेर कारबाही गरिने एसपी अधिकारीले बताए ।