नर्भिक अस्पतालमा अभिनेता अनमोल केसी भर्ना

१३ असोज,काठमाडौं । रावायण नामको फिल्म खेल्न नमानेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । अभिनेता केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार साँगाबाट पक्राउ गरेको थियो ।

उनलाई गएराति साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए। रावायण नाम फिल्म खेल्नका लागि १० लाख रूपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै चन्द्रकला कटवाल थापाले अनमोलविरुद्ध उजुरी दिएकी थिइन्।उजुरी परेपछि पटपटक छलफलका लागि दुबै पक्षलाई बोलाउँदा पनि अनमोल नआएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी शुक्रबार प्रहरी वृत्त सिंहदरबारमा बुझाएको थियो।

वृत्तमा पु¥याइएपछि अनमोलले छाती दुखेको र श्वास फेर्न गाह्रो भएको भनेपछि उनलाई अस्पताल लगिएकको एसपी ढुंगेलले जानकारी दिए । आज शनिबार बिदा भएकाले अनमोल विरुद्ध परेको उजुरी माथिको कारबाही आइतबारदेखि सुरू हुनेछ । आइतबार उनलाई अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान अगाडि बढाउने एसपी ढुंगेलले जानकारी दिए ।