आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस

२० भदौ, काठमाण्डौ । सामाजिक न्याय र आर्थिक सशक्तिकरण : मानव बेचबिखनको निर्मुलनभन्ने मुल नारा सहित आज मानव बेचबिखन विरुद्धको १७ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

सन् २००२ मा काठमाडौँ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ११ औँ शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ सालको भदौ २० गते तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरेको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ । नेपालमा मानव बेचबिखन आज पनि एउटा विकराल समस्या नै हो ।

प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति र स्वरूपमा पनि परिवर्तन आएको छ । कुनै समय भारतका कोठीहरूमा बेचबिखन गरिएका नेपाली चेलीहरू आज विश्वभरि नै मानव तस्करहरूले वैदेशिक रोजगारीका नाममा बेचिरहेका छन् । चेली मात्र नभई जोखिमपूर्ण काम र मानव अङ्ग तस्करका लागि नेपाली पुरुषहरूको पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बेचबिखन भई नै रहेको छ । फरक स्वरूप र परिवेशमा मानव बेचबिखनका घटनाहरू झनै बढिरहेको छ ।

हुन त नेपालमा मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नहुँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रूपमा सफल हुन सकेको छैन । महिला बेचबिखन हुन नदिन तथा बेचबिखनमा परेको चेलीलाई उद्धार गर्न सरकारले आठ पुनर्स्थापना केन्द्रको स्थापना गरेको छ । तर यी केन्द्रको सञ्चालन र चेलीहरूको पनि यथोचित व्यवस्थापन हुन सकेको छैन ।

यी सबै कुराहरूलाई ध्यानमा राख्दै मानव बेचबिखन र ओसारपसार विरुद्ध पैरवी गर्न र जनचेतना फैलाउने अनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ नेपालमा सो दिवस मनाउन थालिएको हो ।