नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगद सहित कर अधिकृत पक्राउ

२५ भदौ,कोहलपुर । नेपालगञ्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित एक कर अधिकृत नियन्त्रणमा लिएको छ भने एक जना फरार भएका छन्।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा नाम भएका २६ लाख रुपैयाँ सहित पक्राउ परेको र अर्का अधिकृत दिपक पौडेल भने फरार भयको प्रहरीले जनाएको छ । नेपालगञ्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको थियो।

विमानस्थल प्रहरीकाअनुसार उनी बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगञ्जबाट काठमाडौं जाने तयारीमा थिए। चेकजाँचको क्रममा अधिकृत सापकोटा र दिपक पौडेलसँग नेपाली २६ लाख रुपैयाँ बरामद भएको हो। बरामद भएको रकमका थप विवरण अनुसन्धान पछि खुल्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।