पेट्रोल र डिजेलको मूल्य बढ्यो

१७ साउन,काठमाण्डौ । नेपाल आयल निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक सय ३० रुपैयाँ घटाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा एक सय ७०, दोस्रो वर्गमा एक सय ७२ र तेस्रो वर्गमा एक सय ७३ रुपैयाँ पुगेको छ ।त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा एक सय ५०, दोस्रोमा एक सय ५२ र तेस्रो वर्गमा एक सय ५३ रुपैयाँ कायम भएको छ ।एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर एक हजार ६ सय ६० रुपैयाँमा झरेको छ । भारतबाट मूल्य बढेर आएका कारण पेट्रोल र डिजेलको मुल्य बढाइएको आयल निगमले जानकारी दिएको छ ।