आज गुरुपूर्णिमा, गुरुको सम्मान गर्ने दिन


१८ असार, काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुको सम्मान गर्ने दिन गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले सनातन वैदिक धर्मको मान्यता छ। मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ।

वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु)को मुख्य भूमिका रहने मानिएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ। व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ। निष्काम भावले विद्या प्रदान गर्नेलाई गुरु भनिन्छ ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ ।