रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

२०६२/०६३ मा शुरू भएको आयोजना पछिल्लो संशोधित गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य छ।

९ चैत, कोहलपुर ।  निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ ।

बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई अगाडि बढाउन कठिनाइ भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए । ‘शाखा नहर निर्माण क्षेत्रका किसानलाई दिनुपर्ने मुआब्जावापतको रकम ५८ करोड ८९ लाख रुपैयाँ आवश्यक छ, तर चालु वर्षमा १३ करोड ४० लाख मात्रै बजेट प्राप्त भएको छ’,निर्देशक निरौलाले भने ।

अहिले आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पर्ने गुरुवा गाउँ, पर्सेनीपुर, अकलघरुवा, गोहवालगायत स्थानमा धमाधम शाखा नहर निर्माण भइरहेको छ । शाखा नहर निर्माण क्षेत्रका किसानलाई करिब रु. ५८ करोड ८९ लाख मुआब्जा रकम बाँड्नुपर्ने भएको छ । ‘सबै कागजी प्रक्रिया पूरा भए पनि पर्याप्त बजेट नहुँदा किसानलाई मुआब्जा रकम वितरण गर्न सकिएको छैन’, निर्देशक निरौलाले भने ।

चालु आर्थिक वर्ष २०८०/२०८१ का लागि सरकारले आयोजनालाई ७५ करोड ४८ लाख विनियोजन गरेको छ । यसमध्ये मुआब्जाका लागि १३ करोड ४० लाख मात्र छुट्याइएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर सन्देश पौडेलले बताए ।

‘आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको तेत्तीस हजार ७६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ’, सूचना अधिकारी पौडेलले भने, ‘आयोजनाको शुरु अवधिदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४०.२२ प्रतिशत र वित्तीय प्रगति ३९.३८ प्रतिशत भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका –२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो ।  २०६२/०६३ मा शुरू भएको आयोजना पछिल्लो संशोधित गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य छ। संशोधित गुरुयोजना अनुसार आयोजनाको लागत ५२ अर्ब ८९ करोड हो । रासस