साउनदेखि कोहलपुर नयाँ बसपार्क सञ्चालनमा


१४ असार, कोहलपुर । बाँकेको कोहलपुरमा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्क साउन देखी औपचारिकरूपमा सञ्चालन आउने भएको छ ।कोहलपुर बसपार्कको टर्मिनल भवन ठेक्काका लागि पाँचौ पटक बोलपत्र आह्वान गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुर ११ बाँकेले लामोदुरी बसपार्कको समग्र व्यवस्थापनको जिम्मा लिएको छ । तर बसपार्कको संरचनासँगै निर्माण गरीएको ४ तले टर्मिनल भवनको भने ठेक्का लाग्न सकेको छैन । बागेश्वरी यातायात प्रालिले अब बसपार्क व्यवस्थापनका लागि प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको व्यवस्थापन गर्ने भयको छ । बागेश्वरी यातायात प्रालिले तीन वर्षसम्म बसपार्क व्यवस्थापन गर्न र वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ रुपैयाँ तिर्ने गरि बोलपत्र स्वीकृत भएको बस्यालको भनाई छ ।

६० प्रतिशत ऋण लगानी नगर विकास कोषले बसपार्क निर्माणका लागि गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको छ । बसपार्कमा बस पार्किङ, टिकट काउन्टर सपिङ कम्प्लेक्स लगायतका सबै संरचना छन् । बसपार्कमा तीनवटा प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था छ । बागेश्वरी यातायात व्यवसायी प्रालिका महासचिव टंक बस्यालले बसपार्कको व्यवस्थापनकालागि आफूहरूको बोलपत्र स्वीकृत भएको जानकारी दिएका छन ।

उनले साउन १ गते उदघाटन गरेर बसपार्क सञ्चालन गर्ने तयारी भएको बताए ।