✍️विवेक रेग्मी
९ जेठ, कोहलपुर । जंगलि जनावरबाट आजित बनेका बाँकेको कम्दि कोरिडोर क्षेत्रका कृषकहरुले बैकल्पिक खेती रोज्न थालेका छन् ।
बन्यजन्तुबाट प्रभावित कम्दि कोरिडोर क्षेत्रमा बन्यजन्तुले नरुचाउने बैकल्पिक बेसार खेती सुरु गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर –७ सल्यानी टोलमा आस्था सामुदायिक वन उपभोक्ता समूह मार्फत बैकल्पिक बेसार खेती सुरु गरेका हुन् । बागेश्वरी सामुदायीक बन, शिबशक्ति सामुदायीक बन र आस्था सामुदायीक बन का १८ जना महिला दिदिबहिनीहरु मिलेर आस्था सामुदायिक वन उपभोक्ता समूह नाम दिई उक्त बेसार उत्पादन सुरु गरेका छन् ।
जङ्गली जनावरले धान मकै गहुँ लगायत अन्नबाली सखाप गरिदिँदा परम्परागत खेती गर्दै आएका किसानहरुले विकल्पका रुपमा बेसार खेती सुरु गरेका हुन् । अन्नबालीको लाभ लिन नसकेका किसानहरुले बेसार खेतीबाट अहिले राम्रै आम्दानी लिन थालेको आस्था सामुदायिक वन उपभोक्ता समिति सदस्य पूर्णकला गिरिले बताईन् । उनका अनुसार १८ जना महिला दिदिबहिनीहरु मिलेर पन्ध्र कठ्ठा जग्गाबाट सुरु गरेको बेसार खेती यो बर्ष उत्पादन लाई बढाउन जग्गा थप गर्ने योजना छ ।
वर्षभरि गरेको मेहनतको फसल छिन भरमै जङ्गली जनावरले खाइदिनाले पीडित बनेका किसानले पछिल्लो समय बेसार खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । सामुदायिक वनमा आबद्ध उपभोक्ताको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले तराई भू–परिधि कार्यक्रमले किसानहरूलाई निःशुल्क रुपमा बेसारको बिउ तथा तालिम सङ्गै १ लाख १० हजारको बेसार पिस्ने र प्याकिङ गर्ने मेसिन समेत उपलब्ध गराएको थियो ।
समूहका महिला दिदिबहिनीहरुले उत्पादन गरेको बेसार काचो बेसार १५० रुपैया नम्बर र पिसेको प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । पहिले पहिले बजारीकरणको समस्या बेहोर्नु परेको र अहिले समूहका दिदिबहिनीहरुको सक्रियताले बजारीकरण गर्न सहज भएको गिरिले बताईन् । बेसारलाई ब्राण्डिङ्ग गर्न कम्दि जैविक बेसार नाम समेत दिइएको छ ।
राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कोरिडोर क्षेत्रमा वर्षभरि गरेको मेहनतको फसल छिन भरमै जङ्गली जनावरले खाइदिनाले पीडित बनेका किसानहरुका लागी बैकल्पिक खेती तर्फ जोड दिन र बाँके जिल्लालाई बेसार उत्पादनमा आत्मनिर्भर बनाउन सरोकारवालाहरुको ध्यान जान आबश्यक छ ।
कोहलपुर खबर । ९ जेष्ठ २०८१, बुधबार १३:१२