प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन

९ चैत्र, काठमाडौं / काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्।

बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताए।

उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए छन्। उनले प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको बताए।

महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए छन् । उनले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताए ।

उनले भने, ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटकपटक भनेको छु, नागरिकलाई नतर्साउनुस्। तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ। एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ। दिनमा कम्तीमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस्।

प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ। प्रधानमन्त्रीले दायाँ रहे पनि भोट, बायाँ रहे पनि भोट मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ। मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइन। यतिधेरै मानिस निरास भएको देखेको थिएन।