माधवसँगको भेटपछि प्रचण्ड भन्छन्-‘अहिले केही पनि फाइनल भएको छैन’

फागुन, ११ काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको उम्मेदवार र पुरानो गठबन्धन ब्यूँताउने विषयमा अहिले कुनै टुंगो लागिनसकेको बताएका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा भेटेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले अहिले पनि छलफलकै क्रममा रहेको बताएका हुन्।

राष्ट्रपतिमा कहिलेसम्म सहमति हुन्छ? भन्ने प्रश्नमा उनले उम्मेदवार मनोनयनको दिनसम्म सहमतिमा पुगिने बताए।

पुरानो पाँचदलीय गठबन्धन ब्यूँतिन लागेको हो ? भन्ने प्रश्नमा प्रचण्डले थपे, ‘होइन अहिलेसम्म फाइनल छैन केही पनि।’

बुधबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनका लागि आज माधव नेपालसहित जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटेर छलफल गर्ने र त्यसपछि पुरानो गठबन्धन ब्यूँताउने तयारी गरेका छन्।