भारतीय विदेशसचिव क्वात्रा सोमबार नेपाल आउँदै

माघ, २७ काठमाडौं / काठमाडौंभारतीय विदेश मन्त्रालयका सचिव विनय मोहन क्वात्रा नेपाल भ्रमणमा आउने भएका छन्।

क्वात्राको भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्रसचिवहरु बीच कनेक्टिभिटी, उर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा क्वात्रा फागुन १ गते सोमबार नेपाल आउन लागेका हुन्।

मन्त्रालयका अनुसार नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने क्वात्राको भ्रमण फलदायी हुने विश्वास लिइएको छ। क्वात्रा फागुन २ गते मंगलबार स्वदेश फर्कनेछन्। क्वात्रा झण्डै एक वर्षअघिसम्म नेपालका लागि भारतका राजदूत थिए।