कोशी प्रदेशको राजधानीमा निषेधित घोषणा

४ चैत्र,विराटनगर/ जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

कोशी प्रदेश नामकरणपछि असहमत पक्षबाट विरोध, धर्ना र जुलुस हुन थालेपछि सुरक्षामा असर पर्ने भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ।

सुरक्षा स्थिति सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयानुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको छ।