२२ माघ, कोहलपुर । सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका कठोर प्रावधानहरू विरुद्ध प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले सांकेतिक खबरदारी सभा सम्पन्न गरेको छ ।
विधेयक विरूद्व मुखमा कालो पट्टी बाँधेर र प्लेकार्ड प्रदर्शन गर्दै प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले कोहलपुर न्युरोडमा विरोध जनाएको हो । विरोध कार्यक्रमका सहभागीहरूले विधेयकको बिरोध गर्दै यसले नागरिक स्वतन्त्रता र संविधान प्रदत्त प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको भन्दै कडा आपत्ति जनाएका थिए । प्रेस सेन्टर नेपाल कोहलपुरका नगर अध्यक्ष निरज सिंहले विधेयकका केही प्रावधानहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधि रहेको र यसले विचार स्वतन्त्रतामाथि गम्भीर हमला गर्ने बताए ।
प्रेस सेन्टर लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्लेले सरकारको आम नागरिक र सञ्चार क्षेत्रको मुख थुन्ने रणनीति रहेको आरोप लगाए । उनले भने, “राष्ट्रिय सभामा दर्ता गरिएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकले सरकारको आलोचना गर्न नदिने नियत प्रस्ट देखिन्छ । मिडिया सरकारको आलोचक र खबरदारी गर्ने शक्ति हो, यसको स्वभाविक चरित्रलाई कुण्ठित गर्ने प्रयासस्वरूप सरकारले यस्तो विधेयक ल्याएको छ। हामी यसविरुद्ध सशक्त संघर्ष गर्छौं।”
खबरदारी सभामा स्थानीय सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा | विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कोहलपुर खबर । २२ माघ २०८१, मंगलवार १०:०६