नरैनापुरको प्रमुख प्रशासकीय अधिकृतमा चौधरी

८ चैत, कोहलपुर । नरैनापुर गाउँपालिकामा सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीले काम सम्हालेका छन् । उनलाई बुधबार गाउँपालिका कार्यालयमा औपचारिक रुपमा स्वागत गरिएको थियो ।

गाउँपालिकाको सभाहलमा भएको स्वागत कार्यक्रममा उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले ढाका टोपी र फुलमालाले स्वागत गरेकी थिइन् । गाँउपालिकाका उपाध्यक्ष श्रीवस्तवसहित वडाध्यक्षहरु इसाक जोलाह, मसूद अहमद शाह, अजय मिश्र, मनोज शर्मा, कृष्णचन्द्र मौर्य, प्रेम मौर्य तथा वडा सदस्य, कर्मचारी लगायतले पनि चौधरीलाई स्वागत गरेका थिए ।

चौधरीलाई गत फाल्गुन २७ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नरैनापुरमा सरुवा गरेको थियो । उनी यसअघि डोटीको आर्दश गाउँपालिकामा कार्यरत थिए । सो क्रममा उपाध्यक्ष श्रीवास्तवले भेदभाव रहित गाउँपालिका निर्माण गरि कर्मचारी खटाउँन आग्रह गरिन् ।

नरैनापुरलाई राम्रो बनाउन प्रमुख प्रशासकीय अधिकृतको भुमिका मुख्य रहने भएकाले यसलाई मनन गर्दै अगाडि बढ्नुपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत चौधरीले गाउँपालिकाको बसाई अवधिभर यहाँको विकास, समृद्धि र सुशासनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको दैलेख सरुवा भएपछि केही समयदेखि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन बन्न पुगेको थियो ।