वनभोज गएको बस दुर्घटना, तीनको मृत्यु, ३६ घाइते

९ मंसिर, उदयपुर । वनभोज गएका सर्वसाधारण चढेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका-५ देउरीको एक निजी विद्यालयको बस भाडामा लिएर स्थानीय बासिन्दा वनभोज गएका थिए । उनीहरू चढेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्द चौधरीले बताए ।

दुर्घटनामा दुई बालबालिका सहित तीन जनाको मृत्यु भएको हो। बसका चालक ४० वर्षीय भिखन चौधरी, सात वर्षीया सन्ध्या चौधरी र ६ वर्षीय बिकास चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि जिल्ला बाहिर बठाइएको छ । अन्य घाइते ३३ जनाको उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

त्रियुगा नगरपालिका र उदयपुरगढीको सीमा क्षेत्रमा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक चौधरीले बताए।