सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य


१३ कार्तिक,काठमाण्डौ । टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

सन्दीप लामिछानेले दोस्रो विकेट लिएसँगै नेपालले सिंगापुरमाथि दबाब बनाएको थियो। सन्दीपले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेका थिए। गुल्सन झाले आठौं ओभरमा २ विकेट लिएपछि नेपाल खेलमा हाबी भएको थियो। गुल्सनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए।

सिंगापुरका लागि सबैभन्दा बढी रन बनाएका रोहनले ३० बलमा ९ चौका र १ छक्का प्रहार गरे। चार बलपछि गुल्सनले अमार्त्य कौललाई शून्यमा आउट गरेका थिए।छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ। समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्।

सेमिफाइनलमा जित हात पारे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुनेछ। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।