बुधबारदेखि विरुवा वितरण गर्दै कोहलपुर डिभिजन वन कार्यालय

२७ असार कोहलपुर / कोहलपुर सव डिभिजन वन कार्यालयले असार २९ गतेदेखि बिभिन्न प्रजातिका विरुवाहरु वितरण गर्ने भएको छ ।

सब डिभिजन बन कार्यालय कोहलपुरले एक विज्ञप्ती जारी गर्दै विरुवा लगाउन इच्छुक संघसंस्था, व्यक्तिहरुले कार्यालयबाट विरुवाहरु सहजै लैजान सक्ने गरि व्यवस्था गरेको छ । व्यक्तिगत प्रयोजनका लागि २५ वटा विरुवासम्मका लागि सहजै दिन सकिने र संस्थागत र बृहत रुपमा बृक्षारोपणका लागि लालपुर्जाको फोटोकपी आवश्यक पर्ने डिभिजन बन कार्यालय कोहलपुरका रेन्जर मानबहादुर थापाद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

डिभिजन बन कार्यालय कोहलपुरले करिब एकलाखको हाराहारीमा विरुवा वितरण गर्ने लक्ष्य लिएको समेत थापाले विज्ञप्तीमा उल्लेख गरेका छन । डिभिजन वन कार्यालयले लिप्टीस, अमला, सगुन, सितल चिनी, बेलौती, बकैना, रिठ्ठा, कल्कि, कपुर, रक्तचन्दन लगाएतका विरुहरु उपलब्ध गराउने छ ।
पछिल्लो समय वातावरणमा देखा परेको प्रभाबलाई नियन्त्रण गर्नका लागि वन कार्यालयले प्रत्येक वर्ष गाउँपालिका र नगरपालिकाको सहकार्यमा विरुवा उत्पादन गरि वितरण गर्दै आएको छ । स्थानीय सरकारहरुले आफ्ना योजनामा राखेका एक घर एक रुख अभियान र हरित सहर बनाउने लक्ष्यलाई पनि यस्ता गतिबिधीले टेवा पुर्याउने वन कार्यालयको उदेश्य रहेको हो ।